सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३(१) बमोजिम प्राप्त अधिकार प्रयोग गर्दै २५ प्रकारका अत्यावश्यक सेवामा हडताल गर्न प्रतिबन्ध लगाएको छ। गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित सूचनामार्फत नागरिकको दैनिक जीवन, सार्वजनिक सुरक्षा, स्वास्थ्य तथा राष्ट्रिय अर्थतन्त्रसँग प्रत्यक्ष सरोकार राख्ने सेवाहरूमा हडताल गर्न नपाइने व्यवस्था लागू गरेको जनाएको छ।
हडताल निषेध गरिएका सेवाहरूको सूचीः
१. डाँक, तार तथा टेलिफोन सेवा।
२. जल, स्थल तथा हवाई मार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने यातायात सेवा।
३. विमानस्थल तथा हवाईजहाजको सञ्चालन, मर्मत तथा व्यवस्थापनसँग सम्बन्धित सेवा।
४. हवाई ग्राउन्ड, रेल्वे स्टेशन तथा सरकारी गोदाममा मालसामान लोड–अनलोड तथा भण्डारण गर्ने सेवा।
५. मुद्रण तथा सरकारी छापाखानासम्बन्धी सेवा।
६. हातहतियार, खरखजाना तथा अन्य सैनिक सामग्रीको उत्पादन, भण्डारण र वितरणसँग सम्बन्धित रक्षा सेवा।
७. सञ्चार सेवा।
८. आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा।
९. खानेपानी सञ्चालन तथा वितरण सेवा।
१०. पर्यटन आवास, मोटेल, होटल, रेस्टुराँ तथा रिसोर्टसम्बन्धी सेवा।
११. पेट्रोलियम पदार्थ (एलपी ग्याससहित) को आयात, ढुवानी, भण्डारण तथा वितरण सेवा।
१२. अस्पताल, स्वास्थ्य केन्द्र तथा एम्बुलेन्सलगायत स्वास्थ्यसम्बन्धी सेवा।
१३. औषधि उत्पादन तथा बिक्री–वितरणसम्बन्धी सेवा।
१४. फोहोरमैला संकलन, ढुवानी, प्रशोधन, व्यवस्थापन तथा विसर्जनसम्बन्धी सेवा।
१५. बैंकिङ सेवा।
१६. बिमा सेवा।
१७. विद्युत् उत्पादन, प्रसारण तथा वितरण सेवा।
१८. खाद्यान्न, दाल, चामल, नुन, तेललगायत दैनिक उपभोग्य वस्तुको आयात, ढुवानी, भण्डारण तथा वितरण सेवा।
१९. मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा।
२०. मास्क उत्पादन तथा वितरणसम्बन्धी सेवा।
२१. ह्यान्ड स्यानिटाइजर उत्पादन तथा वितरणसम्बन्धी सेवा।
२२. भेटेरिनरी (पशु स्वास्थ्य) सेवा।
२३. कन्सुलर सेवा विभागबाट प्रदान गरिने सेवा।
२४. राहदानी विभागबाट प्रदान गरिने सेवा।
२५. इन्टरनेट सेवा।
सरकारका अनुसार यी सेवाहरूमा कुनै प्रकारको अवरोध उत्पन्न भएमा जनजीवन, सार्वजनिक सुरक्षा, स्वास्थ्य सेवा, आपूर्ति व्यवस्था तथा राष्ट्रिय हितमा प्रतिकूल असर पर्न सक्ने भएकाले हडताल निषेध गरिएको हो।