मानव समाज सधैं संगठन र नेतृत्वमा आधारित रहँदै आएको हुन्छ। परिवार, समाज, समुदाय, राज्य र विश्वस्तरसम्म जीवन सञ्चालनका लागि नेतृत्वको आवश्यकता पर्छ। नेतृत्व भनेको मात्र शासन गर्ने कुरा होइन; यो जिम्मेवारी, समर्पण र समाजलाई अगाडि बढाउने प्रेरक शक्ति हो। राजनीति भनेको राष्ट्र र जनताको हितका लागि सार्वजनिक निर्णय लिने, नीतिहरू बनाउने र तिनको कार्यान्वयन गर्ने प्रक्रियासँग सम्बन्धित गतिविधि हो। त्यसैले राजनीति गर्ने व्यक्ति अर्थात् राजनीतिक नेतामा विशिष्ट प्रकारका वा विषेष प्रकारका गुणहरू हुन आवश्यक हुन्छ।
यदि राजनीतिक नेतामा आवश्यक विशिष्ट प्रकारका गुणहरुको कमी हुन्छ भने राजनीति स्वार्थ, भ्रष्टाचार, द्वन्द्व र शोषणको अखडा बन्ने गर्छ। तर नेता इमानदार, दूरदर्शी र सेवा भावनाले युक्त भए भने राजनीति समाजको उत्थान, न्याय र समृद्धिको मार्ग बन्न सक्छ। यसै सन्दर्भमा राजनीतिक नेतामा के-कस्ता गुणहरू हुनु पर्दछ भन्ने विषय अत्यन्तै महत्वपूर्ण ठहरिन्छ। यी महत्वपूर्ण १५ गुणहरुको बारेमा संक्षेपमा यहाँ उल्लेख गर्ने प्रयास गरिएको छः
१. सत्यनिष्ठा र इमानदारी हुनु पर्नेः
राजनीतिक नेतामा सबैभन्दा पहिले इमानदारी हुनुपर्छ। नेता समाजको प्रतिनिधि भएकाले उनले व्यक्तिगत लाभभन्दा सार्वजनिक हितलाई प्राथमिकता दिनुपर्छ। जस्तैः
- भ्रष्टाचार नगर्ने,
- जनताको सम्पत्तिमा आँखा नलगाउने,
- बोली र व्यवहारमा एक रुपता सत्य बोल्ने,
यी आधारभूत गुण बिना राजनीति केवल ब्यबसाय मात्र हुन्छ।
२. जनसेवक भावनाले भरिपूर्ण हुनु पर्नेः
राजनीतिक नेता शासक होइन, सेवक हुन् भन्ने बुझ्नुपर्छ। नेता पद प्रतिष्ठाका लागि होइन, समाज र राष्ट्रको सेवा गर्नका लागि जिम्मेवार हुन्छन्। जनताको समस्या बुझ्ने, उनीहरूको सुख-दुखमा सहभागी हुने र समस्याको समाधानका लागि सक्रिय रहने गुण नेतामा अपरिहार्य हुनु पर्दछ।
३. दूरदर्शिता (Visionary quality) हुन पर्नेः
नेता केवल वर्तमानमा होइन, भविष्यलाई दृष्टिगत गरेर नीतिहरू बनाउन सक्षम हुनुपर्छ।
- दीर्घकालीन योजना,
- स्थायी समाधान,
- भावी पुस्ताका लागि अवसर सिर्जना गर्ने दृष्टि, यी सबै दूरदर्शी नेताको पहिचान हुन्।
४. छिटो निर्णय क्षमता (Quick Decision-making ability) हुनु पर्नेः
नेताले संकट, विवाद वा चुनौतीपूर्ण अवस्थामा सही निर्णय गर्न सक्नुपर्छ।
- अनिर्णयशीलताले राष्ट्रलाई अस्तव्यस्त बनाउँछ।
- गलत निर्णयले जनताको विश्वास हराउँछ।
त्यसैले नेता दृढ, तर न्यायपूर्ण निर्णय गर्ने क्षमतायुक्त हुनुपर्छ।
५. न्याय र समानताको पक्षधर हुनु पर्नेः
समाजमा विभिन्न जाति, धर्म, भाषा, वर्ग, राजनीतिक आस्था, विचार र लिंगका मानिसहरु हुन्छन्। नेताले सबैलाई सम्मान, समान अवसर दिन सक्नुपर्छ।
- विभेदको अन्त्य,
- विधिको शासन (Rule of Law) को सम्मान,
- सामाजिक न्यायको प्रवर्द्धन,
यी गुण नभए राजनीति अन्याय र विभाजनको उपकरण मात्र हुन्छ।
६. संवाद र सहिष्णुता को गुण हुनु पर्नेः
लोकतन्त्रमा बहस, छलफल र बहुविचारको सम्मान हुन्छ। नेता आलोचना सुन्न सक्ने, फरक विचारलाई सहन सक्ने र सहमति खोज्ने क्षमता भएको हुनुपर्छ। विपक्षीलाई शत्रु होइन, प्रतिद्वन्द्वीका रूपमा हेर्ने गुणलाई महत्त्वपूर्ण गुणको रुपमा मानिन्छ।
७. देशभक्ति र निष्ठा वान हुनु पर्नेः
राजनीतिक नेतामा राष्ट्रप्रेम र नागरिकप्रतिको निष्ठा हुनुपर्छ।
- विदेशी दबाब वा व्यक्तिगत स्वार्थमा नझुक्ने,
- राष्ट्रिय हितलाई सर्वोच्च मान्ने,
- देशको सम्प्रभुता र सम्मान जोगाउने,
यी गुणले मात्र नेता जनताको विश्वास जित्न सक्छ।
८. शिक्षा र व्यबहारीक ज्ञान हुनु पर्नेः
नेताले राजनीति मात्र होइन, समाज, अर्थव्यवस्था, संस्कृति, अन्तर्राष्ट्रिय सम्बन्ध आदिबारे न्यूनतम ज्ञान राख्नुपर्छ।
- अज्ञानी नेताले गलत नीतिहरू ल्याउन सक्छन्।
- ज्ञानसम्पन्न नेताले समय, परिस्थिति र विश्वप्रवृत्तिअनुसार नीति निर्माण गर्न सक्छन्।
९. उच्च नैतिकता र आचरण हुनु पर्नेः
नेताको व्यक्तिगत जीवन पनि समाजका लागि उदाहरणीय हुनुपर्छ।
- असभ्य बोली,
- अनैतिक जीवनशैली,
- हिँसा र द्वेषपूर्ण गतिविधि,
यी गुणहरु नभई राजनीतिज्ञ आदर्श बन्न सक्दैनन्।
१०. जनसरोकारप्रति संवेदनशीलता हुनु पर्नेः
नेता जनताको आवाज सुन्न सक्ने र उनीहरूको सरोकारलाई नीतिमा उतार्ने हुनुपर्छ।
- गरीब, श्रमिक, किसान, दलित, महिला, युवा आदि सबै समुदायका मागलाई सम्बोधन गर्ने।
- जनतासँग नजिक रहने र उनीहरूको समस्यामा प्रत्यक्ष संलग्न हुने गुण।
११. प्रेरणादायी व्यक्तित्व हुनु पर्नेः
नेता आफ्नो व्यवहार, बोली र कार्यद्वारा अरुलाई प्रेरित गर्न सक्नुपर्छ।
- युवालाई राष्ट्र निर्माणमा सक्रिय तुल्याउने,
- कठिन परिस्थितिमा जनतालाई आशा दिने,
- समाजलाई सकारात्मक दिशामा डोराएरै नेतृत्व गर्ने।
१२. संगठनात्मक क्षमता हुनु पर्नेः
राजनीतिक नेता केवल व्यक्तिगत रूपमा मात्र होइन, संगठनको नेतृत्व गर्ने हुन्छ।
- पार्टी सञ्चालन,
- अनुशासन कायम गर्ने,
- कार्यकर्तालाई संगठित गर्ने,
यी संगठनात्मक क्षमताले मात्र राजनीति प्रभावकारी हुन्छ।
१३. लोकतान्त्रिक संस्कार हुनु पर्नेः
नेता अधिनायकवादी नभई लोकतान्त्रिक मूल्य मान्ने हुनुपर्छ।
- निर्वाचनप्रति आस्था,
- मानवअधिकारको सम्मान,
- शक्ति विभाजन (Division of Power) लाई पूर्ण तया स्वाकार गर्न सक्ने,
यी लोकतान्त्रिक संस्कार बिना नेता निरंकुशतर्फ उन्मुख हुन्छन्।
१४. संकट व्यवस्थापन क्षमता हुनु पर्नेः
भूकम्प, महामारी, आर्थिक मन्दी वा अन्य संकट आउँदा नेता सक्रिय, जिम्मेवार र सशक्त रूपमा अगाडि आउन सक्नुपर्छ।
- विपद् व्यवस्थापन,
- तत्काल राहत र दीर्घकालीन पुनर्निर्माण,
यी गुणले मात्र नेता असल साबित हुन्छन्।
१५. सन्तुलित अन्तर्राष्ट्रिय दृष्टिकोण हुनु पर्नेः
आजको युग ग्लोबलाइजेशनको युग हो। नेताले अन्तर्राष्ट्रिय राजनीति, कूटनीति र विश्वप्रवृत्तिबारे जानकारी राख्नुपर्छ।
- परराष्ट्र नीति सन्तुलित राख्ने,
- अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्ने,
- राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै विदेशी सहकार्य गर्ने,
यी गुणले मात्र राष्ट्रको सम्मान बढ्छ।
अन्त्यमाः
राजनीति भनेको जनताको हित र राष्ट्रको विकासका लागि गर्ने पवित्र कार्य हो। तर गलत सोच, स्वार्थ र भ्रष्ट आचरणले गर्दा राजनीतिमा विकृति आउँछ। त्यसैले राजनीतिक नेतामा इमानदारी, सेवा भावना, दूरदर्शिता, निर्णय क्षमता, न्यायप्रियता, सहिष्णुता, देशभक्ति, शिक्षा, नैतिकता, संगठनात्मक क्षमता, लोकतान्त्रिक संस्कार आदि गुण अनिवार्य रूपमा हुनुपर्छ।
नेता यस्ता गुणले युक्त भए मात्र राजनीति शुद्ध हुन्छ, जनताले विश्वास गर्छन् र राष्ट्र समृद्धि र न्यायको बाटोमा अघि बढ्छ। त्यसैले, नेता पदमा पुग्ने होइन, गुणमा निखार ल्याउने व्यक्ति हुनुपर्छ। नेता भनेको सत्ता भोग्ने होइन, समाजलाई उज्यालो बनाउने दियो हो र हुनु पर्दछ।